
अध्यक्ष
“गुणस्तरियता विश्वसनियता तथा संचालन प्रकृयामा शुद्धता, निति, विधि र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिवद्धता” भन्ने मुल नारा सहित सहकारी यात्रामा अगाडी बढीरहेको यस संघ सहकारी सिद्धान्त र मूल्य मान्यताहरुलाई पालन गर्ने, सदस्यहरुलाई भेदभाव रहित र पक्षपात रहित ढंगले सरल वित्तिय सुविधाहरु उपलव्ध गराउने र सामाजिक तथा गैरवित्तिय क्रियाकलापहरुमा सहभागी भई रहेका छौं ।
सहकारी ऐन २०३१ खारेज भई नयाँ सहकारी ऐन २०४८ ले सहकारी क्षेत्रमा व्यापक परिर्वत भए संगै सहकारी संघ/संस्था दर्ता र स्व:स्फूर्त दंगले संचालन गर्न पाउने स्वायतता पाएको वेला नेपाल राष्ट्रिय सहकारी संघको स्थापनाको लागि जिल्ला सहकारी संघहरुको गठनको आवश्यकता भएकोले यस जिल्लामा संचालनमा रहेको ११ वटा सहकारी संस्थाहरुको आवेदन मार्फत २०५० भाद्र ९ गते सहकारी विभागमा विधिवत दर्ता भई जिल्ला सहकारी संघ सिन्धुली स्थापना भएको थियो ।
जिल्ला सहकारी संघ लिमिटेड सिन्धुली जिल्लामा रहेका सबैप्रकारका सहकारी संघ/संस्थाहरुकोे प्रमुख संघ हो । सिन्धुली जिल्लामा दर्ता भएका सबै प्रकारका सहकारी संघ/संस्थाहरु यस संघमा आबद्ध हुन सक्छन् र भईरहेका छन् । संघ स्थापनाको ३० वर्ष पुरा भए पनि विगत केहि वर्ष देखि मात्र संघका गतिविधिहरु क्रियाशिलरुपमा सञ्चालन हुँदै आएका छन् । यस संघमा २०८३ असार मसान्तसम्म जिल्लामा दर्ता भएका ५२२ सहकारी संस्था मध्ये २२२ वटा संघ/संस्था यसमा आवद्ध भईसकेका छन् । संघको प्रमुख कार्य सदस्यहरुको क्षमता अभिबृद्धीका लागि तालिम गोष्ठी आयोजना गर्नु, सहकारीका विभिन्न सूचनाहरु प्रारम्भिक सहकारी संस्थाहरुसम्म पुर्याउनु, सहकारीका ऐन नियमावलीहरुमा देखिएका कमी कमजोरीहरु सुधार गरी सदस्यमैत्री कानुन निर्माण गर्न दबाब सिर्जना गर्ने, राष्ट्रिय सहकारी महासंघ, जिल्ला संघ र प्रारम्भिक संस्थाहरुलाई जोड्ने पुलको काम गर्ने कार्य यस संघले निर्वाह गरिरहेको छ।
विश्वव्यापी रुपमा गरिवी निवारणको प्रमुख माध्यम सहकारीलाई स्वीकार गरिसकेको वर्तमान अबस्थामा नेपालको संबिधान २०७२ मा राज्यले सहकारी क्षेत्रलाई तीन खम्बे अर्थ नीतिको महत्वपूर्ण खम्बाको रुपमा स्वीकार गरे संगै नेपालमा सहकारी आन्दोलनले सफलता पाएको अनुभव गर्न सकिन्छ। देश भर सहकारी जागरण सम्बन्धी विभिन्न चरणमा गतिविधि मार्फत समुदाय सचेतनाको स्तरमा बृद्धि भईरहँदा हामीले निरन्तर भाद्र ९ गते नै स्थापना दिवस संगै वार्षिक साधारण सभा सम्पन गर्ने संस्कारित अभ्यासलाई सोही अभियानसँग जोडेर हेर्न सम्पूर्ण प्रारभ्मिक सहकारी संस्थाहरु सफल हुनु पर्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
सहकारी ऐन २०७४ जारी भई ३० वार्षिक साधारण सभा सम्म आईपुग्दा जिल्ला भरिमा ५१७ भन्दा बढी सहकारी संघ/संस्थाहरुको अभिभावक हुनुपर्ने अवस्था आएको छ । ऐन नियमको परिर्वतनका साथ साथै स्थानिय प्रदेश र केन्द्र सरकारबाट संचालन हुने गतिविधिहरुलाई समय सपक्ष अनुसरण गर्दै संघलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा अन्तर सहकारी सम्बन्धलाई अबलम्वन गर्नु का साथै स्थानिय देखि केन्द्र सम्मका निकायहरु समन्वय कायम गरी संघ संस्थाहरुको हितमा निरन्तर भूमिका निर्वाह गर्ने कार्यमा संघको नेतृत्व निरन्तर लागिरहेको छ । यस संघको स्थापना काल देखि प्रतक्ष तथा अप्रतक्ष रुपमा नेतृत्व तहमा रहि संघको गरिमालाई जोगाई राखि सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नु हुने अग्रज पूर्व अध्यक्ष गणेश वराल तथा कृष्ण राज केसी तथा जिल्लाको सहकारी अभियानलाई सफल वनाउन भुमिका खेल्नु हुने सवै सहकारी अभियन्ताहरु प्रति आभारी छौ ।
सिन्धुली जिल्ला वि.पी.राजमार्गको पूर्णता संगै पूृर्व तथा मध्य तराईलाई जोड्ने धरान – चतरा – सिन्धुली – मकवानपुर मदन भण्डारी राजमार्ग खण्डको वाटोमा पर्ने अंग्रेजहरुलाई परास्त गरी नेपालीको वीरासत जोगाउने ऐतिहाँसिक जिल्ला मात्र नभई एक महत्वपूर्ण गन्तव्यको रुपमा परिभाषित छ । हाम्रो भूगोलको विशिष्ट पहिचान र विभिन्न महत्वपूर्ण अवसरका कारण विकासका प्रचुर सम्भावनाहरु उपस्थित छन् । यहांको विशिष्ट ईतिहास र पहिचान, आम नागरिकहरुको सहकारी तथा सामाजिक एकता र विकासको भावना हाम्रा लागि महत्वपूर्ण छन् । सालका हरिया वनहरुले र जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा विशेष आर्थिक क्षेत्र र अनेकन् सम्भावनाहरुले यस क्षेत्रको भविष्य चम्किलो छ । निर्माणाधिन सुनकोशी डाईभर्सन, तथा प्रस्तावित खुर्कोट चियावारी सुरुङमार्ग जस्ता वहुआयामिक राष्ट्रिय स्तरका आयोजनाको रेखाङकन संगै सिन्धुलीको सहकारी संघ संस्थाहरुको विकास र सम्भावनाहरुलाई प्रभावकारी बनाउन यी सवालहरु निश्चय पनि अन्तर सम्वन्धित र सहयोगी छन् । यसमा हामी सबैले चासो, सकारात्मक सोच र क्रियाशिलता जाहेर गर्नुपर्दछ ।
यो संघलाई सांच्चै सहकारीको रुपमा विकास गर्न सवै अभियन्ताहरुको सदभाव, मेहनत, लगाव र विश्वासको हामीलाई अझ बढी खांचो छ । उपस्थित अवसर र चुनौतिहरुलाई हाम्रो एकताले मात्रै जित्न सकिन्छ । विगतमा भएका कमि कमजोरीहरुवाट पाठ सिक्दै सहकारीलाई परस्पर सेवा, आपसी लाभ र सामाजिक उत्तरदायित्व अनि विकासको पर्यायको रुपमा अघि बढाउन प्रतिवद्ध बनौं । संघलाई मायाँ गरि उचाईमा लैजान सहयोग गर्नु हुने सवै सहकारी अभियन्ताहरु प्रति हार्दिक आभार तथा कृतज्ञाता ।
जय सहकारी ! ! जय जिल्ला सहकारी संघ ! !
नवराज कोइराला
अध्यक्ष
जिल्ला सहकारी संघ लिमिटेड सिन्धुली
